सत्तापक्षले सांसदलाई भेडाबाख्रा बनाउन खोज्योः पौडेल

काठमाण्डु टुडे २०८२ असार २२ गते १६:२२ मा प्रकाशित

काठमाण्डू, २२ असार– माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सत्ता पक्षले सांसदहरुलाई भेडाबाख्रा बनाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार शिक्षा समिति बैठकमा पौडेलले समितिमा ह्वीप लगाएर सांसदहरुलाई भेडाबाख्रा बनाउन खोजिएको बताए ।

आइतबार समितिबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी थियो । तर, शिक्षामन्त्री रघुजी पन्त र काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्नुपर्ने भन्दै प्रतिवेदन पारित गर्न नसकिने बताए ।

‘शिक्षा समितिको बैठक कहाँ घुमिरहेको छ ? यो संसदीय समिति हो । यहाँ पार्टीको कुनै ह्विप लाग्दैन’, पौडेलले भने, ‘समितिको माननीयलाई भेडाबाख्रा बनाउन खोजियो । यो मिल्दैन ।’

छिनछिनमा निर्णय परवर्तन गरेका भन्दै उनले समिति सभापति अम्मरबहादुर थापाप्रति पनि असन्तुष्टि जनाए ।

सभापति थापाले विधेयक समितिबाट पारित गर्ने भनेर बैठक बोलाएका थिए । तर, सरकारको आग्रहमा पछि सारिएपछि विवाद भएको हो ।

पौडेलेल विद्यालय शिक्षा विधेयक छिटो टुंगो लगाउन माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us