
काठमाण्डू, २२ असार– प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।
त्यसका लागि सत्ता साझेदार काँग्रेस सभापति शेरबहादुर देउवालाई ओलीले सहमत गराइसकेको बालुवाटार श्रोतले जनाएको छ ।
ओली काँग्रेस–एमालेसहित सरकारमा सहभागी अन्य दलका समेत मन्त्री फेर्ने तयारीमा छन् । दुई दलबीच १७ असार ०८१ को मध्यरातमा भएको सहमतिअनुसार ओली ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
दुई दलबीच एक वर्षमा मन्त्री फेर्ने पूर्वसहमतिअनुसारै मन्त्रिपरिषदमा हेरफेर गर्न लागिएको काँग्रसका एक पदाधिकारीले बताए ।
श्रोतका अनुसार वर्तमान सत्ता गठबन्धनकी प्रमुख सूत्राधारसमेत रहेकी देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषदमा हेरफेर हुनेछ । राणा हाल इटाली भ्रमणमा छिन् ।
रोममा जारी खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४औँ सत्रमा सहभागी हुन उनी १३ असारमा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
श्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबाहेक सबै मन्त्रीको राजीनामा मागिनेछ । त्यसपछि नयाँ मन्त्री नियुक्त हुनेछन् । ‘परराष्ट्रमन्त्री असार २६ गते नेपाल आइपुग्नुहुन्छ, त्यसपछि मन्त्रिपरिषदमा हेरफेर हुन्छ’, ती नेताले भने ।
सम्भवतः राणालाई उपप्रधानमन्त्रीमा बढुवा गरी परराष्ट्र मन्त्रालयकै जिम्मेवारीमा निरन्तरता दिइने सम्भावना छ । गत १० वैशाखमा मात्र मन्त्री भएका कारण पन्तले भने निरन्तरता पाउने भएका हुन् ।
प्रधानमन्त्री ओलीसँग विद्यालय शिक्षा विधेयकमा कुरा नमिलेपछि तत्कालीन मन्त्री विद्या भट्टराईले ८ वैशाखमा पदबाट राजीनामा दिएकी थिइन् । त्यही ठाउँमा पन्त मन्त्री नियुक्त भएका थिए ।