५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका विभिन्न ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ ।

गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ ।

आज (सोमबार) पाठ्यपुस्तक बिक्री वितरण र छपाइको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ ।

नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्धक अनिलकुमार झाले जानकारी दिएका छन ।

अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको उनले बताएका छन । उनले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छपाइको काम सम्पन्न गरी बिक्री वितरण गरिहरेको जानकारी दिएका छन ।

उनले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याइ विद्यार्थीहरूलाई विवरण गरेको जानकारी दिएका छन । उनले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने जानकारी दिएका छन ।

प्रबन्धक झाले कतिपय विद्यालयहरूमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्री वितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरू ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने बताउका छन ।

उनले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरूलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण भएको बताएका छन । उनले अहिले हिमाली जिल्लाहरूका सबै विद्यालयमा पुस्तकहरू पुगिसकेको बताएका छन ।

दुर्गम हिमाली जिल्लाहरू हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरूमा समेत पाठ्यपुस्तक पुगिसकेको उनले बताएका छन ।

उनले पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरूमा पुस्तक पुर्‍याउन सफल भएको बताएका छन ।

उनले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्‍याएकाले सहज भएको जानकारी दिएका छन ।

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताएका छन । उनले पुस्तक बिक्री वितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताएका छन ।

उनले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताएका छन । केन्द्रले केन्द्रीय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,

प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगन्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय

र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्री वितरण भएको छ । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरूमा पुस्तक पुग्न बाँकी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us