
काठमाण्डु,१ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा भएको बताएका छन ।
उनले संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका छन ।
आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरेका छन । उनले भने, ‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ रु भन्ने कसरत ठूलै छ, ।
उनले वर्तमान समयमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्र सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको बताएका छन ।
उनले जिम्मेवारीबोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने बताएका छन । उनले भने, ‘अहिले हामी सरकारको नेतृत्वमा छौँ, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन ।
हामीले बुद्धि नपुर्याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ ।’ उनले पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाइमा उठाउन र सरकारलाई जनमुखी बनाउन जरुरी रहेको बताएका छन ।
प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा माओवादी केन्द्रले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताएका छन । उनले नेतृत्वलाई दबाव दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताएका छन ।