
काठमाण्डु,१४ चैत– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पसष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना मंगलबार रिहा भएका छन् ।
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।
धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाण्डुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिएका छन ।
७ चैतमा काठमाण्डुको नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।