भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन ७ गते १३:१९ मा प्रकाशित

काठमाण्डु,७ फागुन– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यस पक्षमा परिणामात्मक थालनी गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

आज (आइतबार) बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहितको मन्त्रालयको टोली र प्रधानमन्त्रीबीचको भेटमा उनले यस्तो बताएका हुन । उनले विकासको विस्तार, सुधार र प्रशासनको चुस्ततामा सरकारले जोड दिएको र त्यसले छिटोभन्दा छिटो सकारात्मक परिणाम दिने बताउका छन ।

उनले भने, ‘पहिलो त विकासप्रतिको बुझाइमै ठिक दृष्टिकोण बनाउन जरूरी छ, त्यसका लागि ऐन – कानुन संशोधनमा समेत सरकारको जोड रहेको छ।’ उनले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अंग र तहहरूको समन्वयात्मक भूमिका र संकल्प हुनुपर्ने बताएका छन । उनले भने, ‘वर्तमान सरकार देशका सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढिरहेको छ।

तसर्थ, विकास र समृद्धिको लक्ष्य हासिल गर्न समन्वयात्मक भूमिका र संकल्पका अघि बढौँ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनताको दैनिक जीवनसँग जोडिएका प्रश्नहरूलाई विज्ञहरू सम्मिलित कार्यदल नै बनाएर सम्बोधन पहल बढाएकोमा प्रधानमन्त्रीले सराहना गरेका छन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राडा सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार विकास प्रणाली सुधार कार्यदल, पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समग्र यातायातमा सुधार अध्ययन कार्यदल र प्राडा राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा सुशासन सुधार सुझाव कार्यदल बनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us