
काठमाण्डु,४ फागुन– प्रहरीले काठमाण्डुको माछा पोखरीमा यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा सहभागी रहेका १५ जनालाई पक्राउ गरेको छ ।
सिसिटिभी फुटेज र भिडियोमा देखिएका १५ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले जानकारी दिएका छन ।
पक्राउ पर्नेमा उदयपुरका रितेश बस्नेत र मोरङ बेलबारी घर भएका यमन राई र काभ्रे घर भएका सुरज मगर रहेका छन् । उनीहरू ल्होत्से मलबाट मोबाइल चोर्दै गरेको भिडियोमा देखिएका हुन् ।
आगजनी र तोडफोडमा संलग्नहरु नुवाकोट घर भएका सुनिल कालिकोटे, माछा पोखरी घर भएका रोमन नगरकोटी, नुवाकोट घर भएका सुदिप तामाङ, मापा पोखरीमा व्यापार गर्ने माधव शाही, नुवाकोट घर भएका १९ वर्षीय केशव राई र सिन्धुली घर भएका इन्द्र तामाङ छन् ।
धादिङ घर भएर तार्केश्वर बस्ने चालक ईलाराज गुरुङ, उदयपुर घर भएका सह–चालक राजन राउत, काभ्रे घर भएका चालक हरिशरण तामाङ, धादिङ घर भएका सहचालक विकास गुरुङ, चितवन घर भएका चालक संविधान परियार र सामाखुसी घर भएर होटेलमा वेटर काम गर्ने कविन खड्गीलाई रहेका छन ।