समीकरण बदल्ने हाम्रो चाहना होइन: मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०७९ फागुन ४ गते १३:१७ मा प्रकाशित

काठमाण्डु,४ फागुन– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरण बदलिहाल्ने आफूहरुको चाहना नभएको बताएका छन ।

तर राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समेत समेट्ने गरी सहमति खोज्न चाहेको उनले बताएका छन । आज बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समीकरण बदल्ने आफूहरुको चाहना नभएको र आफूहरुका कारण यो परिस्थिति सिर्जना पनि नहुने बताएका छन ।

तर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै अधिकांश दलले मत दिएकाले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति चाहेको उनले बताएका छन ।

श्रेष्ठले अगाडि भने, ‘राष्ट्रपति चयनका सन्दर्भमा पनि प्रमुख प्रतिपक्षलाई समेत विश्वास लिएर राष्ट्रिय सहमतिको वातावरण अझ सुदृढ गर्ने गरी अगाडि बढ्नु सान्दर्भिक हुन्छ ।’

केही दलले त गठबन्धन भत्काउन खोजिएको भनेका छन् नि भन्ने प्रश्नमा उनले कसैले चाहेर मात्र गठबन्धन नभत्किने बताए । सरकार चलाइरहेका दलहरुले सही दृष्टिकोण, नीति र कदम चालेर विश्वासको वातावरण बनाइराख्नुपर्ने भन्दै उनले भने, ‘तर प्रतिगमनलाई कुनै हालतमा अघि बढ्न दिन चाहनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us