कांग्रेसका सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी

काठमाण्डु टुडे २०७९ फागुन ४ गते ११:३६ मा प्रकाशित

काठमाण्डु,४ फागुन– गएराति ग्याँस सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भएको छ ।

कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए ।

चिकित्सकहरुको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।उनकी आमाको भने कीर्तिपुरमै उपचार हुने छ ।

आमालाई आईसीयुबाट बाहिर निकाल्ने अवस्था नभएकाले उनलाई भारत नलैजाने स्रोतले जानकारी दिएको छ । बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए ।

उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।

आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकार बताउँछिन् । त्यसैले भारत लगेर उपचार गर्न सिफारिस गरिएको ताम्राकारले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us