मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १८:२२ मा प्रकाशित

काठमाण्डु,३ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन ।

आज (बुधबार) दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा उनले यस्तो बताएका हुन ।

उनले भने, ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । तसर्थ राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ ।’

अहिलेको सरकार मानवअधिकारप्रति सम्वेदनशील रहेको भन्दै प्रचण्डले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा आफू गम्भीर रहेको बताएका छन ।

उनले आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नु पर्ने बताएका छन ।

बैठकमा उनीहरुले मानवअधिकार आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us