नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १६:३६ मा प्रकाशित

काठमाण्डु,३ फागुन– प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) बनाउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा घर भइ हाल ललितपुरको नखिपोट बस्ने कञ्चन गुरुङ, नुवाकोट घर भइ टोखा बस्ने अनिल राईलाई सामाखुशी र नुवाकोट नै घर भइ तारकेश्वर बस्ने राजन तामाङ रहेका छन ।

काठमाण्डु उपत्यकामा केही व्यक्तिहरुले लिखत कीर्ते गरी नक्कली स्मार्ट लाइसेन्स बनाउने गरेको गोप्य सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा खोजतलास गर्ने क्रममा कार्यालयबाट खटिएको टोलीले गुरुङसहित तीन जनालाई पक्राउ गरीएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन ।

उनीहरुलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको उनले बताएका छन ।

प्रहरी अनुसन्धानका क्रममा कञ्चन गुरुङले आफ्नो फोटो, गंगा तामाङको नामको सवारी चालक अनुमति पत्र र ५ हजार रुपैयाँ अनिल राईलाई दिएको खुलेको छ ।

यस्तै अनिल राईले पनि आफूले १५ सय रुपैयाँ राखेर उक्त फोटो, कागजात र ३ हजार ५०० रुपैयाँ राजन तामाङलाई दिएको खुलेको छ ।

यससँगै राजन तामाङले गंगा तामाङको सवारी चालक अनुमति पत्रमा कञ्चन गुरुङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाइदिएको खुलेको राठौरले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us