राष्ट्रपति चुनावमा कांग्रेसले ढोक्सा थाप्छ: सांसद पौडेल

काठमाण्डु टुडे २०७९ फागुन ३ गते १५:०८ मा प्रकाशित

काठमाण्डु,३ फागुन– कांग्रेस सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन ।

आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको बताएका छन ।

उनले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको बताउदै उनले कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताएका छन । उनले भने, ‘यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ ।

आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ’ ‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’

यसअघि प्रतिनिधिसभाको बेठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले नेकपा माओवादी केन्द्रमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने टिप्पणी बताएका थिए ।

राष्ट्रपतिकै चुनावलाई लिएर सत्ता समीकरण फेरिन सक्ने कतिपयको आंकलनका सन्दर्भमा पनि पौडेल बोलेका छन् । उनी भन्छन्, ‘हामी स्थिरताको पक्षमा छौं ।

गठबन्धन भत्कियोस् भन्ने चाहना छैन । तर, सुदूरपश्चिममा गठबन्धनमा भत्कियो । यो कांग्रेसका कारणले भत्किएको हो कि जगैदेखि हल्लिएर भत्किएको हो हामी प्रश्न गर्न चाहन्छौं ।’

पहिला ७ दल रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा ४ पार्टीका नेता मात्रै देखिन थालेको भन्दै पौडेलले ब्यङ्ग्य गरेका छन । उनले भने ‘उच्चस्तरीय संयन्त्रको बैठकमा पहिले ७ /८ जना देखिन्थे । अहिले ४ जना देखिनिुहुन्छ ।

बाँकी कता जानुभयो ?’ उनले पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बालकोट र बालुवाटारमा भेटका लागि दौड चलिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी   सरकारबाट बाहिरिएकोबारे प्रश्न गरे ।

पौडेलले सोधे, ‘जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा किन गएन  ? कांग्रेसले ढोक्सा थापेर रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर ?’

गत माघ २२ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले बुढो बाघले आफ्नो आहारका लागि जुक्ति लगाउन बाला देखाएर महिलालाई बोलाएको कथा सुनाएका थिए ।

कांग्रेसले बुढो बाघले झैँ बाला देखाएर माओवादी केन्द्र लगायतका दलहरुलाई वर्तमान सत्ता गठबन्धनबाट निकाल्न खोजेको ओलीको आशय थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us