मोदीको नेपाल भ्रमण फलदायी बनाइने

काठमाण्डु टुडे २०७१ साउन ४ गते ३:४८ मा प्रकाशित

narendra modiकाठमाण्डु, ४ साउन – सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसै महिना हुने औपचारिक भ्रमणलाई सार्थक एवम् फलदायी बनाउन उच्चस्तरीय परामर्श प्रारम्भ गरेको छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला हुने द्विपक्षीय वार्ता तथा नेपालले उठाउनुपर्ने विकास–निर्माणका साथै अन्य पारस्परिक हितका मामिलाबारे सम्बन्धित विषयका विज्ञहरूसँग सरकारले शृङ्खलाबद्ध परामर्श थालेको हो ।

सरकारले सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रमुख प्रतिपक्षी राजनीतिक दल एनेकपा (माओवादी), सरकार र सदनबाट बाहिर रहेको नेकपा–माओवादी, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई–मधेस लोकतान्त्रिक पार्टीलगायत दलसँग आज छलफल गर्दैछ ।

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा शुक्रबार पूर्व गृहसचिव एवम् वाणिज्य तथा आपूर्ति सचिवहरूसँग परराष्ट्र मन्त्रालयमा परामर्श बैठक भएको थियो ।

बैठकमा सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयका साथै भारतसँगको व्यापार घाटा कम गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका उपायबारे पूर्व सचिवहरूले सुझाब दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us