अनशन बस्दाबस्दै तीन मिर्गौला रोगीको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन ४ गते १:४४ मा प्रकाशित

काठमाण्डु, ४ साउन –  विभिन्‍न माग राखेर ४१ दिनदेखि रिले अनशनमा बस्दै आएका मिर्गौला रोगीमध्ये तीनजनाको मृत्यु भइसकेको छ।रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बसेका तीनजनाको मृत्यु भए पनि सरकार, नागरिक समाज, अधिकारकर्मी र सरोकारवाला संघसंस्थाले अहिलेसम्म कुनै चासो देखाएका छैनन्।

अनशनका क्रममा मिर्गौलापीडित श्याम खड्की (काठमाडौं) को असार ३ गते, श्याम खत्री क्षेत्री (ललितपुर) को असार १६ गते र नातीभाइ डंगोल काठमाण्डुको असार ३० गते मृत्यु भएको हो।

सम्पूर्ण मिर्गौला रोगीलाई नि:शुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिनुपर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भएका रोगीका लागि मिर्गौला प्रत्यारोपण वा औषधि सेवन महँगो भएकाले नि:शुल्क उपचार गरिदिनुपर्नेलगायतका सात सूत्रीय माग राखेर मिर्गौला पीडित ेठ २७ गतेदेखि रिले अनशनमा बस्दै आएका छन्।

राष्ट्रिय मिर्गौला पीडित संघ नेपालको अगुवाइमा सुरु गरिएको अनशन दैनिक चार घन्टा, आठ घन्टा हुँदै असार २९ गतेदेखि दैनिक १२ घन्टा भएको छ। संघका अध्यक्ष चिन्तामणि पोखरेलले सरकार र नागरिक समाजले कुनै वास्ता नगरेको गुनासो गर्दै माग सुनुवाइ नभए आत्मदाह गर्ने चेतावनी दिए।

नेपालमा मिर्गौला रोगीको यकिन तथ्यांक नभएपनि कुल जनसंख्याको नौ प्रतिशतमा यो रोग भएको अनुमान छ। जसमध्ये १० प्रतिशत मानिसको दुवै मिर्गौला पूर्ण खराब भएको मिर्गौलापीडित संघको दाबी छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us