काठमाण्डु, ३ साउन– एकीकृत नेकपा माओवादीले सरकारले दलाल, नोकरशाही र पुँजीपति वर्गको हितमा बजेट ल्याएको आरोप लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित नियमित भेटघाटमा सरकारले गरिब र किसान वर्गलाई बेवास्ता गरेर दलालहरुको हितमा बजेट ल्याएको आरोप लगाए ।
‘अहिलेका अर्थमन्त्रीले विगतमा पनि उदारवादका नाममा सरकारी उद्योगहरुको नीजिकरण गरेर नेपाली अर्थतन्त्र धरासायी बनाएका हुन्’, शर्माले भने, ‘यसपटक पनि गरिब नेपाली किसानका लागि नभई दलाल, पुँजीपति र नोकरशाही वर्गको हितमा बजेट आएको छ ।’
प्रवक्ता शर्माले नेपालको जलश्रोतलाई भारतको मातहतमा राख्न वर्तमान सरकारले छलफल थालेको भन्ने समाचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । ‘प्रधानमन्त्री देशमा नभएको समयमा प्रतिपक्षलाई समेत जानकारी नदिई राष्ट्रियतासँग सम्बन्धित विषयमा हुन थालेको छलफलले हामीलाई गम्भीर बनाएको छ’, शर्माले भने ।
अर्को एक फरक प्रसंगमा उनले संविधानसभाबाट संविधान जारी गर्ने उद्धेश्यका लागि मोर्चा निर्माण गरिएको दाबी गरे । शर्माले एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई बधाई दिए ।
उनले ओलीको कार्यकाल सफल होओस् भन्ने कामना गर्दै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न एमालेको वर्तमान नेतृत्व सक्षम हुने बताए ।