कञ्चनपुर, ३ साउन– भारतमा मजदुरी गरी घर फर्कंदै गरेका सुर्खेत लेकपर्सा–८ का जीतबहादुर कटुवाल भारतीय सहर पिथौरागढमा लुटिका छन् ।
लुटेराहरुले उनलाई नशालु पदार्थ मिसाइएको जुस खुवाएर बेहोस बनाई शुक्रबार साँझ लुटपाट गरेका हुन् ।
सिमलाबाट बसमार्फत घर फर्कंदै गरेका बेला सँगै बसेका अपरिचित व्यक्तिले दिएको जुस पिउँदा उनी बेहोस भएका थिए ।
बेहोस भएका कटुवालले पाँच महिना मजदुरी गरी कमाएको भारु २० हजार लुटेराले लुटेर लगेका छन् । पिथौरागढ बसपार्कमा बेहोस अवस्थामा रहेका कटुवाललाई भारतीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय गड्डाचौकीको जिम्मा लगाइएको थियो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले कटुवालाई उपचारका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा भर्ना गरिएको बताए । अस्पताल भर्ना गरिएपछि उनी शनिबार बिहान होसमा आएका छन् ।