महाकाली नदीको बहाव बढेपछि सीमा पुलको आवागमनमा रोक

काठमाण्डु टुडे २०७१ साउन ३ गते ५:०७ मा प्रकाशित

mahakaliकञ्चनपुर, ३ साउन – निरन्तर भइरहेको वर्षाका कारण महाकाली नदीको बहाव बढेपछि आज बिहानदेखि सीमा पुलको आवागमनमा रोक लगाइएको छ ।

नदीको बहाव ८० हजार क्युसेक पुगेपछि पुलको आवागमनमा रोक लगाइने गरिएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दका अनुसार बिहान ७ बजे गरिएको मापनअनुसार महाकाली नदीको बहाव एक लाख ४० हजार १९२ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।

पहाडी जिल्लामा पानी पर्ने क्रम नरोकिएकाले नदीको बहाव बढ्दै जान थालेको छ । पानीको बहाव बढेसँगै सीमा पुलमा सवारीसाधन र पैदल यात्रुलाई समेत हिँडडुल गर्नमा रोक लगाइएको उनले बताए ।

पुलमा आवागमन बन्द गरिएपछि भारतबाट नेपालतर्फ आउने सयौँ यात्रु सीमावर्ती भारतीय बजार बनवसामा बस्न बाध्य भएका छन् ।

गत वर्ष यस क्षेत्रमा महाकाली नदीको बाढी पसी विद्यालयसहित एक दर्जनभन्दा बढी घर बगाएर लगेको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us