
काठमाण्डु,१८ माघ– एमालेबाट सांसद बनेका नेपाल एकनाथ ढकालले सरकार र तत्कालीन माओवादी बीच भएको विस्तृत शान्ति सम्झौताको सक्कलप्रति माग गरेका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन । सांसद ढकालले ०६३ साल मङ्सिरमा भएको माओवादी र सरकार बीचको शान्ति सम्झौतापछि विभिन्न चरण पार गर्दै नयाँ संविधान बनेपछि २ वटा आमनिर्वाचन सम्पन्न भएको बताएका छन ।
उनले भने, ‘विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कोसँग र कहाँ छ ? शान्ति सम्झौताका हस्ताक्षरकर्ता अहिले तेश्रोपटक प्रधानमन्त्री भइसक्नुभएको छ तर शान्ति प्रक्रियाको एक महत्त्वपूर्ण पक्ष सङ्क्रमणकालीन न्यायसम्बन्धी खासै प्रगति हुन सकेको छैन ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले पीडितहरूबाट ६० हजारभन्दा धेरै उजुरी प्राप्त गरेको भएको भए पनि हालसम्म एउटै पनि अनुसन्धान गर्न सफल भएको छैन ।’
उनले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्नेबारे सरकारको नीति तथा कार्यक्रममा पनि उल्लेख रहेको बताउँदै सङ्क्रमणकालीन न्याय नपाउँदा गम्भीर अवस्था आउनेतर्फ सरकारलाई सचेत गराएका थिए ।