
काठमाण्डु,१७ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान दोहोर्याएको छ । आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटारमा गएर नेकपा (माओवादी केन्द्रका) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग राखेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्रोतका अनुसार सभापति लामिछानेले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने बताएका छन ।
१० पुसमा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो ।
फेरि त्यही ठाउँमा राजनीति पुग्नु भनेको सरकारलाई दिएको सर्मथन आफूहरुले फिर्ता लिने अवस्थामा पुग्नु भएको रास्वपा नेताले बताएका छन ।
‘सरकार निर्माण गर्दा भएको सहमति अनुसार हामीले गृह मन्त्रालय लिएको हो,’ रास्वपा स्रोेतले भन्यो, ‘त्यो पालना नहुने हो भने देशको राजनीति पुस १० मा फर्किन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेको हो ।’
प्रधानमन्त्री प्रचण्डले भने नागरिकता पुनः लिए पनि पुरानै नागरिकताका आधारमा राहादानी लिएको विषयमा अझै विवाद रहेको भन्दै रविलाई अहिले हतार नगर्न आग्रह गरेका थिए ।