काठमाण्डु , २ साउन – बागमती नदीमा पानी नभएको र फोहोर दुर्गन्ध मात्रै भएको भन्ने कुरा आमरुपमा आइरहेको बेला सोही नदीमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ ।
सरकारले केही दिन पहिले मात्र सो नदीमा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको एक प्रवद्र्धक कम्पनीलाई उत्पादनको अनुमतिपत्र प्रदान गरेको छ ।
बाग्मती नदीको सरसफाइ र सुधारको प्रक्रिया अगाडि बढिरहेको बेला ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले जलविद्युत् आयोजना अगाडि बढाउन सो स्वीकृति प्रदान गरेको हो ।
विभागले केही दिन पहिले मात्र मान्दु हाइड्रो पावरलाई उत्पादनको अनुमति प्रदान गरेको हो ।
मकवानपुरको कुलेखानी आसपासमा आयोजनास्थल रहने गरी सरकारले मान्दु हाइड्रोलाई उत्पादनको अनुमति दिएको हो । कूल २० मेगावाट क्षमताको सो आयोजनाको लागत चार अर्ब २३ करोड रहेको छ ।
सो आयोजनालाई आगामी एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गर्नसमेत विभागले निर्देशन दिएको छ ।
सो आयोजनाबाट उत्पादित बिजुली वर्षाकालमा चार रुपैयाँ ४० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरमा खरिद गर्ने सम्झौतासमेत नेपाल विद्युत् प्राधिकरणसँग भइसकेको बताइएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए) समेत भइसकेको छ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी अनुमतिपत्र दिइएको सो आयोजनाबाट उत्पादित बिजुली कुल १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत कुलेखानी जलविद्युत् आयोजनाको सवस्टेसनमा जोडिनेछ । रासस