सभामुख पदका लागि बुधबार मनोनयन दर्ता हुने

काठमाण्डु टुडे २०७९ माघ २ गते १४:४८ मा प्रकाशित

काठमाण्डु,२ माघ– संघीय संसद सचिवालयले सभामुखको निर्वाचनको सबै तयारी पूरा गरेको छ । मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीका बताएका छन ।

बुधबार सभामुखका लागि मनोनयन दर्ता हुने उनले बताएका छन । सभामुखका लागि एक जनाको मात्रै मनोनयन परे बिहीबार प्रतिनिधिसभाको बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

एक भन्दा बढी उम्मेदवार भए दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ ।

त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको कुल सदस्य संख्याको जसले बहुमत ल्याउँछ उनी नै सभामुख निर्वाचित हुनेछन् ।

‘निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहमुतबाट पारित हन्ुछ सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ’ प्रतिनिधिसभा नियमावलीको नियम ५ मा उल्लेख गरीएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us