प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने

काठमाण्डु टुडे २०७९ पुष २७ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,२७ पुस– प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले बताएका छन ।

६० प्रदेश सभा सदस्यको समर्थनसहित कार्की आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ ।

सरकारलाई समर्थन जनाएपनि भागवण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा गएको छैन सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो ।

तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नभएको हो ।

माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेका छन् ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी भने सरकारलाई सहज रुपमा काम गर्नका लागि बेलैमा विश्वासको मत लिने तयारी भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us