
काठमाण्डू, ३ जेठ– सत्ताको प्रमुख घटक कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भइरहेको शंका व्यक्त गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन ।
उनले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको शंका गर्दै यही कारण गभर्नर नियुक्तिमा पनि चलखेल भइरहेको हुनसक्ने आशंका गरेका छन । कांग्रेस नेता डा. कोइरालाले भने, ‘मलाई डरलाग्न थाल्यो, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भएको छैन रु मेरो चिन्ता त्यहाँ छ, म भन्न सक्दिनँ, मलाई थाहा छैन त्यो राष्ट्र बैंकको कुरा ।
सभापतिजीसँग कुरा गर्दा राम्रै मान्छे हुन्छ, ‘डेमोक्रेट नै हुन्छ भनेर आश्वस्त पार्नुभएको छ । म त्यसमा आश्वस्त छु । मलाई ढुक्क छ । तर, यो कुरा सोच्दा कतै कहीँ गडबड त भइरहेको छैन भन्ने चिन्ता छ ।’
उनले गभर्नर नियुक्तिमा संविधान मिचिएको भन्दै चिन्ता पनि व्यक्त गरे । ‘संविधानलाई मिचियो, यही गभर्नरको केसमा । संविधानमा गभर्नर नियुक्तिको टर्म सकिनुभन्दा एक महिना अघि नै हुनुपर्छ भनेर लेखेको छ ।
उहाँ (महाप्रसाद अधिकारी) चैत २७ गते नै रहेछ । वैशाख बितिसक्यो, जेठमा यो हाल छ । यसरी कति दिन चल्छ देश ?,’ नेता कोइरालाको प्रश्न छ ।