
काठमाण्डू, ३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन ।
आज (शनिबार) राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले मुख्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकारका चाहिने पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौँ ।
अब त्यो भ्रममा रहनु हुँदैन। साना साना स्वार्थ लिएकाहरुले हामी विरुद्ध भ्रम फिँजाएका छन् । त्यस्तो भ्रममा पर्नु हुँदैन। एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरुले साथ दिनुपर्छ ।
म युवाहरुलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहान्नँ। आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ । मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन् ।
रहर लागेर तुरुन्तै डाक्टर, इन्जिनियर हुँदैनन् । मेहनत र समय आवश्यक हुन्छ। यो वास्तविकता तपाईंहरुले बुझ्नुपर्छ।’ कार्यक्रममा युवा चिकित्सक, इन्जिनियरसहित करिब १०० जना एमालेमा प्रवेश गरेका थिए। स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका युवा व्यवसायीलाई सम्मान गरिएको थियो।