
काठमाण्डू, ३ जेठ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन ।
आज (शनिबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन । उनले आजको अन्तरविरोधलाई चिरेर सही ढंगले निर्कयौल गर्न जरुरी रहेको पनि बताएका छन । नेता खनालले भने, ‘एउटै एकीकृत पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव हुँदैन ।
कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी हुन्छ । त्यो आन्दोलनभित्र बुर्जुवा वर्गका विचारहरु प्रवेश गर्ने, चिर्ने कारणले मात्रै कि उग्र वामपन्थ की दक्षिणपन्थ भड्काउ हुने कारणले समूहरु प्रकट हुने गर्दछन् । हाम्रो देशको हालत त्यही हो ।’
कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको पनि बताएका छन । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताएका छन ।
उनले भने, ‘कम्युनिस्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्नेछ । यो पार्टीलाई अहिले जसरी बुकुरे, बुकुरे, बुकुरे पार्टीहरू बनाउने र अलग अलग सानोसानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको छ । यो चिजलाई हामीले तोड्नुपर्छ ।’ पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने पनि बताएका छन ।