सात दलद्वारा आन्दोलन कार्यक्रम सार्वजनिक

काठमाण्डु टुडे २०७१ साउन १ गते ११:१३ मा प्रकाशित

भक्तपुर, १ साउन – मध्यपुरथिमि नगरपालिकाले आफूहरुसँग कुनै छलफल नै नगरी विभिन्न सेवामा ४० प्रतिशतदेखि ९०० प्रतिशतसम्म राजस्व वृद्धि गरेको भन्दै सात राजनीतिक दलले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नगरपालिकासँग सात बुँदे माग राख्दै मध्यपुरथिमिमा बिहिबार ती दलले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

गत माघ महिनामा सम्पन्न नगरपरिषद्बाट नगरपालिकाले एकलौटी रुपमा दलीय प्रतिनिधिसँग छलफल नै नगरी एकलौटी रुपमा राजस्व वृद्धि गरेपछि दलहरुले पटकपटक वृद्धि भएको राजस्व घटाउन माग गरिआएका थिए ।
नगरपालिकाले त्यसको लगातार बेवास्ता गर्दै आएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको नेकपा एमाले मध्यपुर नगरसमितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

एमाले, एमाओवादी, राप्रपा, नेमकिपा, नेकपा–माओवादी, नेकपा(माले) र सङ्घीय समाजवादी पार्टीले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको श्रेष्ठले बताए ।

आन्दोलनका कार्यक्रमअनुसार साउन ४ गतेदेखि साउन १३ गतेसम्म नियमित रुपमा वडा कार्यालयहरुमा ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गर्ने र वडा कार्यालयहरुको कामकाज ठप्प पार्ने जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको आन्दोलनलाई पनि बेवास्ता गरिए नगरपालिका तालाबन्दीसम्मको कार्यक्रम सञ्चालन गरिने छ ।

तेइसौँ नगरपरिषद्बाट वृद्धि गरिएको राजस्व दरलाई फिर्ता गर्नुपर्ने, विकास निर्माणको काममा उपभोक्ताबाट काम गर्दा २० प्रतिशत राख्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने, नक्सा पासमा संहिता बनाइनुपर्ने, मापदण्ड विपरीत भइरहेको निर्माण कार्यलाई रोक्नुपर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, साँस्कृतिक संरक्षणका कार्यक्रम ल्याइनु पर्ने माग आन्दोलनरत दलहरुको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us