माग पुरा नभए काठमाण्डु ठप्प पार्ने ट्याक्सी व्यवसायीहरुको चेतावनी

काठमाण्डु टुडे २०७१ साउन १ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, १ साउन – १५ दिनभित्र आफ्ना माग सरकारले पुरा नगरे सम्पूर्ण ट्याक्सी व्यवसायीहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्बोच्च महासंघ आबद्ध श्री स्वस्तिक स्वरोजगार ऋण ट्याक्सी व्यवसायी संघले माग पुरा गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

taxiपेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुसार विभिन्न भाडाका सवारीमा मूल्य समायोजन भैसक्दा पनि ट्याक्सीमा भने मूल्य समायोजन नगरेको भन्दै स्वस्तिक स्वरोजगार ऋण ट्याक्सी व्यवसायी संघले सरकारलाई १५ दिनको अल्टिमेटम दिएको छ ।

स्वस्तिक स्वरोजगार ऋण ट्याक्सी व्यवसायी संघले बिहिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै ट्याक्सी क्षेत्रमा सवैभन्दा बढि समस्या आउनुमा सरकार नै दोषी रहेको उल्लेख गर्दै आफूहरुको १७ बुँदे माग बढेर २६ बुँदेमा पुग्दा पनि कुनै सुनुवाई नभए दोस्रो चरणको सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव एवम् संघका अध्यक्ष प्रकाश बस्नेतले मजदुर तथा व्यवसायीहरुले उठाएका जायज मागहरु सरकारले १५ दिनभित्र सम्बोधन नगरे आफूहरु कडा भन्दा कडा संघर्षका कार्यक्रमसहित सडकमा उत्रने चेतावनी दिए ।

उनले ट्याक्सी व्यवसायीहरुलाई नै पेशाबाट विचलित पार्न ट्राफिक प्रहरीले निरकुश तानाशाही शैलीबाट कारवाही गरेकोमा आपत्ति जनाए । विगतमा पनि हामीले सरकारलाई ध्यानाकार्षण गराउन १७ बुँदे माग पेश गरेका थियौं तर सरकारले कुनै चासो देखाएन, उनले थपे–तर अहिले समस्या समाधान हुनुको सट्टा हाम्रा मागहरु बढेर २६ बुँदा भएका छन् तर सरकार भने मौन छ ।

उनले ट्राफिक प्रहरीले बर्दिको निरंकुशता लादेको र यातायात व्यवस्था कार्यालयले समयमा नै भाडा समायोजन नगरेको भन्दै ट्यक्सी व्यवसायी र सेवाग्राहीवीचको खाडल बढाएको पनि आरोप लगाए । बस्नेतले विना बर्दीमा आएर टा«फिक प्रहरीले विना मिटर जाउँ भन्ने अनि बग्गीखाना लगरे गाडी थन्काउने कार्यले आफूहरुलाई निकै पीडा दिएको भन्दै यस्ता कार्यले कमिशनको खेल शुरु भएको पनि आशांका व्यक्त गरे ।

व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुसार नै भाडा समायोजन हुनुपर्ने, उपयुक्त पार्किङ्को व्यवस्था गर्नुपर्ने, विना बर्दी हुने ट्राफिक चेक जाँचको अन्त्य हुनुपर्ने, बैज्ञानिक प्रविधिअनुरुपको मिटरको व्यवस्था गरिनुपर्ने, हाउमचका नाममा (मोलमोलाई) तत्काल बन्द गनुृपर्ने लगायतका विभिन्न २६ बुँदे माग राख्दै सरकारको ध्यानाकार्षण गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष विष्णु शिवाकोटी र संघका सचिव प्रदिपजंग गुरुङ् लगायत उपस्थित सम्पूर्ण ट्याक्सी व्यवसायीहरुले आफ्ना माग १५ दिनभित्र पनि सरकारले पूरा नगरे टा«फिक प्रहरी मूख्यालाय बग्गीखाना लगायत सरकारी निकाय घेर्ने र पुरै सडक ठप्प पार्ने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us