काठमाण्डु, १ साउन – सरकारले चौथो पञ्चवर्षीय मानव अधिकार राष्ट्रिय कार्ययोजना बिहिबारदेखि कार्यान्वयनमा ल्याएको छ ।
शिक्षा, स्वास्थ्यलगायत विभिन्न १८ वटा विषयलाई समेटेर कार्ययोजना तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा बिहिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्ययोजनाले नेपाल पक्ष राष्ट्र भएका विभिन्न मानव अधिकारसम्बन्धी सन्धिद्वारा सिर्जित दायित्व पालना गर्न र अन्तरिम संविधान तथा अन्य प्रचलित कानुन एवम् नीतिद्वारा नेपाली नागरिकलाई प्रत्याभूत अधिकारहरुको संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
मानव अधिकारप्रतिको प्रतिबद्धतालाई व्यावहारिक रुपमा सुनिश्चित गर्न, मानव अधिकारका सार्वभौम मूल्य र मान्यतालाई रुपान्तरण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व कार्यान्वयन गर्न र मानव अधिकार संस्कृतिको विकास गर्ने ध्येय कार्ययोजनाले राखेको विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको सन् १९९३ मा भियनामा सम्पन्न मानव अधिकारसम्बन्धी विश्व सम्मेलनले प्रत्येक सदस्य राष्ट्रले मानव अधिकार संरक्षण तथा प्रवद्र्धनका लागि राष्ट्रिय कार्ययोजना बनाई लागू गर्न आह्वान गरेको थियो । सो आह्वानअनुरुप नेपालले विसं २०६१ देखि हालसम्म तीन वटा कार्ययोजना तयार गरी कार्यान्वयन गरिसकेको छ । रासस