२० वर्ष देखि नवीकरण नै नगरी सयौं सङ्घसंस्था सञ्चालन

काठमाण्डु टुडे २०७१ साउन १ गते ७:२२ मा प्रकाशित

सोलुखुम्बु, १ साउन –  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा दर्ता भएका सङ्घसंस्थाहरुले समयमा नवीकरण नगराउने र जरिवानासमेत नबुझाउने गरेको पाइएको छ ।

विसं २०५८ पछि जिल्लामा दर्ता भएका ४५० भन्दा बढी सङ्घसंस्थामध्ये दुई तिहाइभन्दा बढीले समयमा नवीकरण नगर्ने र जरिवानासमेत नबुझाएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका सङ्घसंस्थाले हरेक वर्ष आफ्नो संस्थाको नवीकरण गराउनुपर्ने व्यवस्था रहेको छ ।

तर असार मसान्तभन्दा पछि साउन, भदौ र असोजभित्रमा संस्था नवीकरण गरेमा ५० प्रतिशत छुट, कात्तिक मङ्सिर र पुसमा नवीकरण गरेमा २५ प्रतिशत छुट र तोकिएको मितिसम्ममा पनि संस्था नवीकरण नभएमा रु एक हजार जरिवाना शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

लगातार पाँच वर्षसम्ममा संस्था नवीकरण नगराएमा संस्था खारेज हुने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । तर प्रशासन कार्यालयमार्फत ०५८ सालपछि हालसम्म नवीकरण नगरेका सङ्घसंस्थाहरु हालसम्म पनि खारेज गरिएको छैन । आधाभन्दा बढी सङ्घसंस्था दर्ता भएपछि नवीकरण नै नभएका सहायक प्रजिअ चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

जिल्लामा आर्थिक वर्ष ०७०–०७१ मा १८ वटा संस्था दर्ता भएका छन् भने ११५ वटाले मात्र नवीकरण गराएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us