माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट सर्वसम्मत चयन

काठमाण्डु टुडे २०७९ पुष १७ गते १२:१६ मा प्रकाशित

काठमाण्डु,१७ पुस– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

आज (आइतबार) बिहान प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो ।

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले भट्ट सर्वसम्मत रुपमा प्रदेश संसदीय दलको नेतामा चयन भएको जानकारी दिएका छन ।

उनले भने,‘आज बिहान बसेको संसदीय दलको बैठकले दलको नेतामा कमरेड खगराज भट्टलाई सर्वसम्मत रुपले चयन गरेको छ । अर्का दाबेदार कमरेड ओमबिक्रम भाट पनि समर्थन गर्नुभएको छ । ’

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले पनि दलको नेतामा भट्टलाई नै सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो । दलको नेतामा चयन भएका भट्ट डेडेल्धुराको प्रदेशसभा (क)बाट निर्वाचित भएका थिए ।

अब उनलाई सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको रुपमा हेरीएको छ । मुख्यमन्त्री बनाउने समझदारीअनुसार नै आफू प्रदेशसभाको चुनाव लडेको बताउने गरेका भट्ट दलको नेता चयन भएसँगै उक्त बाटो पनि खुलेको छ ।

एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनमा पनि सुदूरपश्चिम माओवादीको भागमा पर्ने सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us