मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८२ जेठ ५ गते ११:४७ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए । प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आइतबार साँझ रतुवामाई–६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेहता गम्भीर घाइते भएकी थिइन् । रंगेली अस्पताल पुर्याउनसाथ आइतबार साँझ ७ः१० बजेतिर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us