कानुन नबनाई महिला कामदार बाहिर पठाउन हुँदैनः खतिवडा

काठमाण्डु टुडे २०८२ जेठ ५ गते १३:१५ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसका सांसद रामहरि खतिवडाले कानुन नबनाई रोजगारीका लागि महिलालाई विदेशमा नपठाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो बताएका हुन । उनले श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले कानुनबिना महिलाहरूलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिएको दाबी गर्दै कानुन नबनाई महिलाहरूलाई बाहिर नपठाउन सरकारसँग आग्रह समेत गरेका छन ।

उनले कानुन विपरीत महिलाहरूलाई बाहिर पठाउन तालिम समेत दिइरहेको बताउँदै रोक्न माग समेत गरे । कांग्रेस सांसद खतिवडाले भने, ‘भिजिट भिसाबाट अहिले धेरै महिलाहरू दुबई हुँदै कुवेत, साउदी अरेबिया पुगेका छन्, श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले लुभुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिइएको जानकारीमा आएको छ ।

तालिम दिइरहेको जानकारीमा आएकाले कानुन नबनाई यस्ता काम नगरियोस् भन्ने ध्यानाकर्षण सभामुखमार्फत सरकारलाई गराउन चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us