काठमाण्डु,३१ असार- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा नेतृत्व
परिवतन हुँदैमा सरकारमा कुनै फेरबदल नहुने बताएका छन् ।
अध्यक्ष निर्वाचित भएलगत्तै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका हुन् ।
उनले आफ्नो ध्यान प्रधानमन्त्री पदमा केन्द्रित नरहेको स्पष्ट गरे । यद्यपि एउटै सरकार सधैंका लागि रहिरहन भने नसक्ने उनको भनाइ थियो । लोकतन्त्रमा सरकार परिवर्तन भइरहनुलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै उनले तानाशाही व्यवस्थामा मात्र स्थायी सरकार हुने उल्लेख गरे । उनले आफ्नो जित स्वभाविक भन्दै पहिल्यै जित्नेमा ढुक्क रहेको जिकिर गरे ।
सहमतिमा नेतृत्व चयनका लागि आफूले राखेको प्रस्ताव माधवकुमार नेपालले अस्वीकार गरेका कारण निर्वाचनमा जानुपरेको ओलीको दाबी थियो । निर्वाचनअघि जे भए पनि त्यसलाई बिर्सिएर पार्टी एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता ओलीले जनाए ।
उनले आफूसँग पराजित भएलगत्तै माधव नेपालले फोनमा बधाई दिएको जानकारी दिए । नेपालसँग सम्बन्ध सुधार गरेर जान आफू तयार रहेको उनको भनाइ थियो ।