राप्रपालाई सरकारमा जान हतारो छैन: राजेन्द्र लिङदेन

काठमाण्डु टुडे २०७९ पुष ४ गते १५:५६ मा प्रकाशित

काठमाण्डु,४ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् ।

आज (सोमबार) पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको बताएका छन । उनले आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताएका छन ।

उनले आफूहरू मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे । लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताएका छन । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरेका छन ।

उनले राप्रपाको उकालो यात्रा शुरु भएको बताउँदै आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताएका छन । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको बताएका छन ।

पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका बताएका छन ।

उनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिएका छन । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरेका छन ।

उनले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us