
काठमाण्डु, ४ पुस– काठमाण्डु उपत्यकाको वायु प्रदूषण उच्च भएको छ । वायु प्रदूषणका कारण काठमाण्डुको हावा मानव स्वास्थ्यका लागि घातक तहमा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाण्डु उपत्यका देशभरकै सबैभन्दा खराब वायु प्रदूषण भएको सहर बनेको छ । केही दिनयता उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ । यस्तो अवस्था वर्षात नभएसम्म रहने मौसमविद बताउँछन् ।
तुँवालो हट्न ठूलो हावा चल्नुपर्ने वा वर्षात हुनुपर्ने उनीहरुको भनाइ छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।
विभागका अनुसार वायुको गुणस्तर एअर क्वालिटी इण्डेक्स (एक्वुआई) १ सय ६२ मापन भएको छ । विश्व स्वास्थ्य सङ्गठन –डब्ल्यूएचओ) का अनुसार हावामा एक्वुआईको मात्रा २५ देखि ५० हुनु मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्वुआई १ सय ५० सम्म पुग्नुलाई संवेदनशील र २ सयसम्म पुगे सबैका लागि अस्वस्थ मानिन्छ ।
विभागका अनुसार यस वर्ष हिउँदे वर्षात नभएका कारण वायु प्रदूषण बढेको हो । पानी नपरेका कारण उपत्यकाको आकाशमा पत्रपत्र भएर धुवाँ र धुलोका कण जम्मा भएकाले वायु प्रदूषण बढेको मौसमविदले बताएका छन् ।
वायु प्रदूषणका कारण मानव शरीरका संवेदनशील अंग मुटु, फोक्सोदेखि मष्तिस्कसम्म असर पुग्ने चिकित्सकहरु बताउँछन् । यस्तै खराब मौसमका कारण आँखा, रुघा खोकी तथा छाला रोगका बिरामी बढेका छन् । चिकित्सकहरुले अत्यावश्यकबाहेक बिहान र बुलुका घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनेका छन् ।
यस्तो समयमा वृद्धवृद्धा, दम, खोकी, श्वासप्रश्वासलगायतका समस्या भएका व्यक्तिले विशेष ख्याल गर्नुपर्ने डा. सुजिता हिराचन बताउँछिन् ।
काठमाण्डु बाहिरका पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्जलगायत सहरमा पनि वायु प्रदूषण बढेको छ ।