रवि र छविका वकिलको बहस सकियो, सरकारी वकिलको अन्तिम चरणमा

काठमाण्डु टुडे २०८२ जेठ ८ गते १७:२७ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी दुवैतर्फका अधिवक्ताहरूको बहस सकिएको छ ।

लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा उनीतर्फका अधिवक्ताहरू र जोशीतर्फका अधिवक्ताहरूले बहस सकिएको हो । मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ नभएको थियो ।

आज (बिहीबार) भने वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस सकाएका हुन् । लामिछानेतर्फका वकिलको बहस सकिएपछि पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए । अहिले जोशीतर्फका अधिवक्ताको पनि बहस सकिएर सरकारी वकिलहरूले जवाफी बहस गरिरहेका छन् ।

सरकारी वकिलतर्फको बहस अन्तिम चरणमा छ । त्यसपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ । यो बहस सकिएपछि बल्ल आदेश आउने छ । आदेश आजै आउनेरनआउनेमा अहिलेसम्म यकिन भएको छैन ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा अहिले बहस भइरहेको छ । लामिछाने र जोशी दुवै जना सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us