तेश्रो वरियतासहित राप्रपा प्रवेश गर्दै रविन्द्र मिश्र

काठमाण्डु टुडे २०७९ असोज १२ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, १२ असोज– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै छन् ।

दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट मिश्र पार्टी प्रवेश गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । श्रेष्ठले राप्रपा र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’ बीच एकता घोषणा समारोह आयोजना गरिएको बताए ।

मिश्रलाई राप्रपामा उपाध्यक्षको जिम्मेवारी दिने निश्चित छ । तर, वरियता भने नटुंगिएको श्रेष्ठले बताए । मिश्रले अध्यक्ष राजेन्द्र लिङदेनपछिको दोश्रो वरियताका लागि बार्गेनिङ गरेका थिए । लिङदेन मिश्रलाई दोश्रो वरियता दिन तयार भए पनि
डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा, बुद्धिमान तामाङलगायत नेता त्यसको विपक्षमा छन् । श्रोतका अनुसार मिश्र तेश्रो वरियतासहित राप्रपामा समाहित हुन राजी भएका छन् ।

मिश्रले सामाजिक सन्जालमार्फत् केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुने र तहगत मिलानका लागि एउटा समिति पनि बन्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us