
काभ्रे, २२ असार– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा आएको छ ।
काभ्रेको बनेपा नगरपालिका–४ र १ को बीचमा रहेको पुल शुक्रबार रातिको बाढीले भाँचिएपछि पूर्वक्षेत्रलाई काठमाण्डू उपत्यकासँग जोड्ने वैकल्पिक राजमाग अवरुद्ध भएको थियो ।
भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् ।
गए राति ६ वटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो ।
नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाण्डूको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।
उक्त पुल २०३७ सालमा निर्माण भएको थियो । स्थानीयका अनुसार शनिबार राति मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो ।
पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो ।