
काठमाण्डु, २९ माघ– सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो । छोरीसहित बाँच्न सफल २८ वर्षीया हसिना मियाले भक्कानिँदै काहाली लाग्दो रातिको घटना सुनाइन् ।
‘चौथो तलामा १२ वर्षका हसन बकस र १५ वर्षका मसिन बकस सुतेका थिए । हेर्दाहेर्दै आगो दन्कियो । छोराहरू पनि आउन सकेनन् ।’ सात वर्षकी छोरी इरम खातुनलाई बोकेर भुइँमा ओर्लिएकी हसिनाले भनिन् । उनका श्रीमान् हुसेन बक्स घरबाहिर भएका कारण बाँच्न सफल भए । शुक्रबार तुलसीपुरको ‘ङ’ लाइनमा रहेको इरम फुटवेर तथा जुत्ता चप्पलको गोदाम घरमा भएको आगलागीको घटनामा परी पाँच जनाको मृत्यु भएको थियो ।