ओली र नेपाल दुवै समूहद्वारा बहुमत दाबी

काठमाण्डु टुडे २०७१ असार ७ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, असार ७ – एमालेको आसन्न नवौं महाधिवेशनका लागि ६० भन्दा बढी जिल्लामा शनिबार प्रतिनिधि चयन भएका छन् ।
kp- madhavमहाधिवेशनमा अध्यक्षमा दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली पक्षले आफ्नो बहुमत प्रतिनिधि छानिएको दाबी गरेका छन् । आफ्नो पक्षका ६० प्रतिशत प्रतिनिधि आएको दुवै समूहको दाबी छ ।

आइतबार उपनिर्वाचन हुने काठमाण्डु, चितवन, बर्दिया र कैलालीसहित केही जिल्लामा भने आगामी १० असारमा मात्र प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि चयनका लागि अधिकांश जिल्लामा निर्वाचन भए पनि केहीमा भने सहमति भएको छ । दुवै पक्षका नेता आफ्ना बढी प्रतिनिधि ल्याउन देशभर खटिएका थिए ।

कतै निर्वाचन र कतै सहमतिमा प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । ओली पक्षधर प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले शनिबार चयन भएकामा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि आफ्नो पक्षका रहेको दाबी गरे । युवा संघ, भूतपूर्व सैनिक संघ, खेलकुद महासंघ, नुवाकोट, धादिङ, खोटाङ, डोल्पा, म्याग्दी, गुल्मीलगायत जिल्लामा आफ्ना बहुमत सदस्य आएको दाबी सो पक्षको छ ।
नेता नेपालको सचिवालयले पनि आफ्नो पक्षमा ६० प्रतिशत प्रतिनिधि रहेको दाबी गरेको छ । तेह्रथुम, ताप्लेजुङ, खेटाङ, ओखलढुंगा, धनकुटा, मोरङ, रौतहट, पर्सा, रसुवा, धादिङ,  कपिलवस्तु, म्याग्दी, कालिकोट, बैतडी, बागलुङ, कालीकोट, बैतडीलगायत जिल्लामा आफ्नो बहुमत रहेको दाबी नेपालको सचिवालयले काठमाण्डु टुडेलाई पठाएको विज्ञप्तिमा छ ।
महाधिवेशनमा २ हजारको हाराहारीमा प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । एमाले महाधिवेशन आगामी १९ असारमा राजधानीमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us