
कन्चनपुर, २८ मंसिर– लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ।
झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए। घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए।
‘हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे। खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो। हो–हल्ला गरी हात्ती भगायौँ, अस्पताल पुर्याउँदा ज्यान गयो,’ उनले भने। शिवरमा रानाका श्रीमती, बुहारी र नातिनतिनासँग बस्दै आएका थिए। हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको छ।
शिविरसहित हात्तीको बथनले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताए। हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उनले बताए