
काठमाण्डु, २९ कात्तिक– प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका छन् ।
प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा पहिलोपटक औपचारिक अभिव्यक्ति दिएका हुन्। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरेका हुन्।
‘नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायतका बार इकाइ न्यायपालिकाको अभिन्न अंग हुन्। वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान समेत गर्दछु,’ उनको विज्ञप्तिमा उल्लेख छ।