
काठमाण्डु, १७ कात्तिक– नेकपा (एमाले) को १०औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । आज ओलीसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् ।
उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरेका थिए । यो ठाउँ बाहेक जिल्लामा विकल्पका बारेमा पनि उनले जिज्ञासा राखेका थिए ।
सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तर तर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताए।
उनले नदी किनारमा व्यवस्थापन गरेर पाँच लाख हाराहारी सहभागी हुनसक्ने जानकारी दिए । नेकपा (एमाले) को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। उद्घाटन सत्रमा एमालेले पाँच लाख जनता उतार्ने योजना बनाएको छ ।