
काठमाण्डू, १९ असार– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० मा रहेको कुलिङ अफ
पिरियडसम्बन्धी प्रावधान संशोधन गरिएको विषयमा छानबिनका लागि संसदीय समिति गठनका विषयमा छलपल थालेका छन् ।
उक्त विषयमा सार्वजनिक र राजनीतिक वृत्तबाट चर्को विरोध भएपछि सभामुखले सक्रियता देखाएका हुन् । यसअघि उनी आफूले विधेयक सच्याउने अवस्था हुुँदै राष्ट्रियसभामा पठाएर जिम्मेवारीबाट पन्छिएका थिए ।
त्यस विषयमा घिमिरेको आलोचना भइरहेको छ । घिमिरेले बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा काँग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग परामर्श गरेका हुन् । उक्त छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी थिइन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० अनुसार छानबिन समिति गठन गर्न प्रस्ताव गर्दै समितिको कार्यक्षेत्र, समयसीमा र सदस्य चयनबारे दलहरूको सुझाव माग गरेका छन् । छलफलमा सहभागी प्रमुख सचेतकहरुले विधेयकका प्रावधानहरू नै हेरफेर भएकाले संसदीय समिति गठन गर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।
विधेयक व्यवस्थापिकाबाट बनेको भएकाले यस विषयमा सरकारसँग छुट्टै धारणा लिन आवश्यक नरहेको बताउँदै आ–आफ्ना दलमा थप छलफल गरेर सभामुखलाई जानकारी गराउने प्रतिबद्धता उनीहरुले जनाएका छन् ।
सभामुख घिमिरेले आगामी २३ असारमा बस्ने प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा छानबिन समिति गठनसम्बन्धी प्रस्ताव अघि सार्ने तयारी गरेको संसद् सचिवालय श्रोतले जनाएको छ ।
विधेयकमा निजामती र सरकारी सेवाबाट सेवा निवृत्त वा राजीनामा दिएका कर्मचारीले संवैधानिक वा अन्य निकायमा नियुक्तिका लागि दुई वर्ष कुलिङ अफ पिरियड राख्न दलहरुबीच सहमति भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले स्पष्ट रुपमा दुई वर्ष कुलिङ अफ पिरियड राख्ने समझदारी गराएको थियो । सोहीअनुसार समितिले प्रतिनिधिसभाको पूर्ण बैठकमा प्रतिवेदन बुझाएको थियो ।
तर, नेपाल सरकारको पूर्वस्वीकृतिमा सेवा निवृत्त कर्मचारीको नियुक्ति हुन सक्ने भन्ने व्यवस्था जालफेलपूर्वक समावेश गरिएको विषय बाहिर आएपछि त्यसबारे राजनीतिक र सार्वजनिक वृत्तमा विवाद र बहस जारी छ ।
समिति सभापति रामहरि खतिवडाले संशोधनमा व्यक्तिगत स्वार्थको गन्ध आएको भन्दै समितिमा निर्णय नभएको विषय कसरी विधेयकमा समावेश भयो भन्नेबारे छानबिन आवश्यक भएको धारणा यसअघि नै सार्वजनिक रूपमा राखेका छन् ।
खतिवडाले विधेयकमा गरिएको हेरफेर समितिमा छलफलबिना गरिएको आरोप लगाउँदै दोषी पहिचान गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।