सुदूरपश्चिमका मन्त्री चौधरी बर्खास्त

काठमाण्डु टुडे २०८२ असार १९ गते १९:१३ मा प्रकाशित

काठमाण्डू, १९ असार– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तीमा परेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार चौधरीलाई मन्त्रीबाट बर्खास्त गरेका हुन् ।

बजेट निर्माणमा वित्तीय अनुशासन उल्लंघन गरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा परामर्श नगरेको तथा कृषकलाई अनुदानमा पावर टिलर (हाते ट्र्याक्टर) वितरण गर्दा आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।

त्यसपछि मुख्यमन्त्री शाहले ५ असारमै मन्त्री चौधरीको राजीनामा मागेका थिए । तर, चौधरीले राजीनामा नदिने भन्दै आफूलाई बर्खास्त गरेर देखाउन मुख्यमन्त्री शाहलाई चुनौती दिएका थिए ।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी सहभागी थिए ।

उन्मुक्तिले मन्त्री चौधरीको बर्खास्तीपछि संघीय र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, एमालेका ११ सांसदको समर्थन बाँकी नै रहेकाले उन्मुक्तिले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा पर्दैन । प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us