
काठमाण्डु, २६ जेठ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभामा सहभागी हुन अस्वीकार गरेको छ ।
प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीले मन्त्रिपरिषदले मनोनित गर्ने २६ जनामा स्थान दिने भन्दै संविधानसभामा आउन गरेको आग्रह माओवादीले अस्वीकार गरेको हो ।
तीन दल र नेकपा–माओवादीका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान वार्ता भएको थियो । वार्तामा नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजना गर्नुपर्ने प्रस्ताव राखेको छ ।
आफूहरुले राजनीतिक सम्मेलनको प्रारम्भिक प्रारुप पेश गरेको नेकपा–माओवादीका अध्यक्ष मोहन वेद्यले काठमाण्डु टुडेलाई बताए । उनले प्रस्तावलाई संविधानसभामा रहेका प्रमुख दलले सकारात्मक रुपमा लिंदै अध्ययन गरेर अर्को छलफलमा बस्ने बताएको जानकारी दिए ।
‘हामीले सर्वपक्षीय राजनीतिक सम्मेलनको प्रारुप राख्यौं’, वैद्यले भने, ‘उहाँहरुले सकारात्मक रुपमा लिनुभयो, अध्ययन गरेर फेरि छलफल गर्ने कुरा भएको छ ।’ उनले राजनीतिक सम्मेलना प्रमुख तीनसहित आफूहरुको आयोजनामा गर्नुपर्ने प्रस्ताव राखेको बताए । तर छलफलका आधारमा आयोजकमा दलहरु थप्न सकिने उनको भनाइ छ ।
संविधानसभाको संवैधानिक राजनीतिक समितिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितसँग वार्ता गर्न अस्वीकार गरेपछि मुख्य दलका शीर्ष नेताले नेकपा–माओवादीलाई वार्तामा बोलाएका हुन् ।
संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीले सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत राजनीतिक समस्या समाधान गर्नुपर्ने बताउँदै आएको छ ।
नेकपा–माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउने प्रयासमा वार्ता गरिएको र सकारात्मक कुराकानी भएको एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीले बताए ।
वार्तामा प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख तीन दलका शीर्ष नेता र नेकपा–माओवादीबाट अध्यक्ष वैद्य, उपाध्यक्ष सिपी गजुरेल र महासचिव रामबहादुर थापा तथा सचिव नेत्रविक्रम चन्द सहभागी थिए ।