
विराटनगर, १९ भदौ– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले अष्टलक्ष्मी शाक्य र भीम आचार्य आफ्नो पार्टीमा आए उनीहरुको मुख्यमन्त्री पद जोगिने बताएकी छन् ।
शाक्य र आचार्य एमाले छाडेर आए आफूहरु विश्वासको मत दिने र सरकार टिकाउने उनको भनाइ थियो । पार्टीको आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएका शाक्य र आचार्य मुख्यमन्त्री पाउने भएपछि पार्टी विभाजनसँगै एमालेमै बसेका थिए । एमाले अध्यक्ष केपी ओलीले शाक्यलाई बागमति प्रदेश र आचार्यलाई प्रदेश–१ को मुख्यमन्त्री बनाएका थिए ।
संवैधनिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । पार्टी विभाजनपछि केही सांसद समाजवादीतिर लागेका कारण दुवै प्रदेश सरकार अल्पमतमा परिसकेका छन् । निर्वाचन आयोगले एमालेका जनप्रतिनिधिलाई २२ भदौसम्म दल छान्ने समयसीमा तोकेको छ ।
‘भदौ २२ गतेसम्म अष्टलक्ष्मी शाक्य र भीम आचार्यले हाम्रो दल रोज्नुभयो भने हामी विश्वासको मत दिन तयार छांै’, शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग झाँक्रीले भनिन्, ‘अन्यथा उहाँहरु सरकारबाट स्वतः बाहिरनुहुन्छ ।’ झाँक्रीले आफ्नो दल कम्युनिष्ट आन्दोलन पुनर्संगठित गर्दै वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दाबी गिरन् ।