वीरगन्ज, २४ जेठ– अत्याधिक गर्मीका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएपछि पर्सामा रहेका सामुदायिक तथा निजी विद्यालय छ दिनका लागि बन्द गरिएको छ ।
अभिभावक र स्थानीय प्रशासनको आग्रहमा जिल्ला शिक्षा कार्यालय पर्सामा शुक्रबार बसेको सरोकारवालाको बैठकले गर्मीका कारण जिल्लाका सम्पूर्ण सामुदायिक र निजी विद्यालय जेठ २५ गतेदेखि जेठ ३० गतेसम्म छ दिनका लागि बन्द गर्ने निर्णय गरेको निमित्त जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले जानकारी दिए ।
केही दिनदेखि ह्वात्तै बढेको प्रचण्ड गर्मीका कारण विद्यार्थीलाई विद्यालयमा आउन गाह्रो भएको, गर्मीकै कारण विद्यालयमा विद्यार्थीलाई पढ्न लेख्न सास्ती भएको र विद्यालयमा विद्यार्थीको उपस्थिति पनि कम देखिएकाले छ दिनका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
उता अत्यधिक गर्मीका कारण कपिलवस्तुका निजी तथा आवासीय विद्यालय एक साताका लागि शुक्रबारदेखि बन्द गरिएका छन् ।
जिल्लामा एक्कासि गर्मी बढसँगै विद्यार्थी तथा शिक्षक कक्षा कोठामै बेहोस हुन थालेपछि प्याब्सन तथा एनप्याब्सनले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
यसअघि नेप्साअन्तर्गतका निजी विद्यालय पनि एक हप्ताका लागि बिदा गरिएको छ ।