
धादिङ, २२ जेठ– धादिङमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
धादिङबेसीबाट गिटी लिएर सल्यानकोट जाँदै गरेको बा ३ ख २९२७ नम्बरको ट्रक दुर्घटना भएको हो । मृत्यु हुने सल्यानकोट–४ का ५२ वर्षीया मिरा नेपाली, ११ वर्षीया सुन्दरी बस्याल र ९ वर्षका रवीन्द्र राना रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा चालक रामशरण भण्डारीसहित अरु ५ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरेका थिए । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको बताइएको छ ।