माधव नेपालद्वारा ओलीसँग भेट्न अस्वीकार

काठमाण्डु टुडे २०७८ साउन १५ गते ७:४९ मा प्रकाशित

काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर  १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् ।

तर,  १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन् । अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन् । नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए ।

त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्टा भेटवार्ता भएको छ । नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने जनाइएको छ। नेम्बाङले दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह गरेको जानकारी दिए ।  ‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’, विघटित कार्यदलमा  संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्बाङले भने । नेम्बाङको आग्रहमा नेपालले ‘ठीकै छ’ भनेर जवाफ दिएको जनाइएको छ ।

नेम्बाङले ओली र नेपालले बनाएको कार्यदलमा दुई पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि आग्रह गरेका थिए । ‘१० बुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पु-याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ’, नेम्बाङले नेपाललाई भनेका थिए ।  नेपालले नेम्बाङसँगको भेटमा पनि १० बुँदे सहमतिका विषयमा स्पष्ट नबताएको जनाइएको छ । ‘म कहाँ कार्यदलले दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले  दिएको स्रोतले बतायो ।

नेम्बाङले सत्तारुढ गठबन्धनमा सहभागिताका विषयमा प्रश्न गर्दा  पनि नेपालले विभिन्न उपमा दिएर उत्तर दिएका थिए । ‘तपाईंले गठबन्धनमा छैन भन्नुभएको थियो । तर, पछिल्लो समय प्रतिनिधि गएको देखिन्छ। किन जानुभएको ?’ नेम्बाङको प्रश्न थियो । नेपालले भने कथा हालेर जवाफ दिएको जनाइएको छ । पार्टी यो अवस्थामा आउनुमा लामो कारण रहेको उनको भनाइ थियो ।  अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us